६ पार्टी एक भएर पनि ‘राजपा’ मोर्चा जस्तै



– डा.सुरेन्द्र झा

हामीले ६ वटा राजनीतिक दलहरू, जसले विगतमा ३ वर्षदेखि लिएर २५ वर्षसम्म अनुभव भएका ११ सांसद भएका पार्टीहरू, एकजुट हुनु आफैमा पनि चूनौतिपूर्ण कार्य थियो । त्यसपछि आन्दोलनको क्रममा एकजुट भएको पार्टी तीनवटा स्थानीय तहको निर्वाचनमा सहभागि भयो । वाम गठबन्धनको एकीकरण पछि अहिले हामी राष्ट्रको तस्रो शक्तिको रूपमा रहेका छौं । यसबीचमा हामीले धेरै कार्यहरू गर्‍यौँ । मधेशको जनअपेक्षाअनुसार हामीले काम गर्नुपर्छ । यसलाई अलि बढि व्यवस्थित गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन तर यो भद्रगोल छ जस्तो मलाई लाग्दैन । पार्टीको आफ्नो सिद्धान्त छ, त्यसअनुसार अगाडी बढिरहेको छ ।

यो सहि हो कि पार्टीका भातृ संगठनहरुलाई व्यवस्थापन गर्न सकिएको छैन । विगतमा हामीले ६ वटा पार्टीलाई एकीकरण गरेका हौं । तर अहिले पनि पार्टीमा ठूला कुराको निर्णय गर्ने क्रममा त्रुटी भइरहेको छ । यसलाई मैले पनि स्वीकार गरेको छु । पहिलो कुरा त हामीले महाधिवेशन गर्ने भनेका थियौं तर गर्न सकेका छैनौं । पार्टीभित्र भएका विवादलाई एकत्रित गर्न सकेनौं । ६ वटा पार्टी को विवाद थियो र त्यो अझै पनि यथावत् नै छ । एकीकरण भछि बनेको राष्ट्रिय जनता पार्टीको संयोजक महन्थ ठाकुर त बन्नुभयो तर अध्यक्ष मण्डलका अन्य सदस्यहरूको व्यवस्थापन हुन सकेको छैन । पार्टीभित्रको धारणा उही पुरानै रहेको छ । जसले गर्दा विवादहरू सिर्जना भयो । यस्तो किसिमका समस्या समाधान गर्न जरुरी छ । पुरानै पार्टीको धारणलाई निरन्तरता दिँदै आउनुभएका अध्यक्ष मण्डलका सदस्यहरूलाई पनि पछिल्लो समयमा यस किसिमले राष्ट्रिय जनता पार्टी निर्माण हुन सक्दैन भन्ने अनुभूति भइसकेको छ । जसको फाइदा विपक्षीले लिन सक्छ । साथसाथै राष्ट्रिय जनता पार्टी मधेश आन्दोलन र युवा शक्तिबाट आफूलाई स्थापित गरेको पार्टी हो ।

अहिले ती युवा साथीहरू प्रदेश २ को पार्टीमा प्रवक्ता, सहमहामन्त्री जस्ता पदमा थुप्रै हुनुहुन्छ । अहिलेको परिस्थितिमा आन्दोलनबाट स्थापित भएको पार्टी भएकाले यसप्रति हामी सबैले विचार गरिरहेका छौं । सबैलाई अनुभूति के भइरहेको छ भने पार्टीलाई चस्त र दुरुस्त बनाउनु परेको छ । अध्यक्ष मण्डलबाट निर्णय हुंने जुन प्रक्रिया भयो, सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई त दिइयो तर त्यसको सान्दर्भिकता छैन । त्यसैले मलाई के लाग्छ भने नैराश्यता नै भइसकेको अवस्था छैन तर हामी चिन्तित अवश्य पनि छौं । यसलाई हामीले रुपान्तरण गरेर पार्टीलाई चुस्त दुरुस्त बनाउन तर्फ लागिरहेका छौं ।

भावनामा बगेर ठूला नेताहरूले पार्टी त एकीकरण गर्नुभयो तर एकीकरण भएपछि ठूलो पार्टी भयो भनेर नराम्रो काम पनि गर्न थाले । निर्णय प्रक्रिायामा भागबण्डालाई अगाडि सारे । महन्थ ठाकुर संयोजक भइसकेपछि तराई मधेश लोकतान्त्रिक पार्टी भन्दा बाहेकका नेताहरूले खासगरी पुरानो पार्टीको नीतिलाई निरन्तरता दिने मनोविज्ञान देखाए । यो अबको अवस्थामा ६ वटै पार्टी विघटन भइसकेको छ । राष्ट्रिय जनता पार्टी नेपाल हाम्रो पार्टी हो, यसैभित्र रहेर हामीले संगठन चलाउनुपर्छ, यसमा नै हाम्रो भविष्य छ भन्ने किसिमको मनोविज्ञानको विकास हुनुपर्छ । यो विकास भयो भने मात्र पार्टी अगाडि बढ्न सक्छ । मलाई के लाग्छ भने राष्ट्रिय जनता पार्टी प्रचुर सम्भावना भएको पार्टी हो । नेतृत्वको कमी छैन, तीन दर्जनभन्दा बढी स्थापित भइसकेका नेताहरू यस पार्टीभित्र छन् । यो हिसाबले सम्भावना भएको पार्टी हो । भावनात्मक रूपमा पनि एकता भएन भनेर भन्दिन । भावनामा बगेर नै एकता भएको हो ।

जनताबाट पनि जब मधेश एक छ भने तपाईंहरू किन अनेकतामा जानुहुन्छ भन्ने दबाब पनि थियो । यो कारणले गर्दा एकता भयो । तर अध्यक्ष मण्डलमा थुप्रै नेताहरू आफूलाई सुरक्षित कसरी पार्न सकिन्छ भनेर भागबण्डाको राजनीति गर्नुभयो । यो पार्टीको लागि दुःखद विषय हो र यस्तो मनोविज्ञानले पार्टीलाई सबैभन्दा बढी क्षति भएको छ । पुरानै नीतिलाई अंगालेर पार्टी अगाडि बढाउनुको कुनै औचित्य छैन । त्यसले गर्दा क्षमतावान युवा साथीहरूई पनि पाखा लगाइयो । टिकट वितरण गर्ने क्रममा नै १२-१५ वटा मेयर उपमेयरको सिट हामीले गुमायौं । प्रदेशमा पनि त्यस्तै छ । समानुपातिकतर्फको जुन निर्णय भयो, त्यो नै जन अपेक्षाअनुसार गराउन सकिएन । यसमा परिवारवाद र लेनदेनका कुराहरू धेरै भयो ।

पार्टी भित्र गुट–उपगुटको चलखेल भयो भन्नु स्वभाविक हो । हामी ६ वटा फरक–फरक पार्टीबाट आएका छौं र ६ वटै पार्टीका अध्यक्षलाई अहिले पनि अध्यक्ष मण्डलको सदस्य बनाइएको छ । ६ वटा पार्टीमध्ये सबैभन्दा ठूलो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी भएको हुनाले र यसको अध्यक्ष पनि धेरै अनुभव प्राप्त भएको हुनाले सबैले संयोजकको रूपमा माने तर अन्य दलका अध्यक्षहरूबीच भने आन्तारिक प्रतिस्पर्धा भयो कि उहाँहरू आफू–आफूले नै गुटबन्दी सिर्जना गर्नुभयो । पुरानै गुट–उपगुटमा सक्रियता देखाउनुभयो र त्यसैमा रमाउने परम्परा र प्रवृद्धि पनि छ । यसले गर्दा अपेक्षाकृत नतिजा लिन सकेनौं । देशको चौथो ठूलो पार्टी हुँदा हुँदै पनि राम्रो सन्देश हामीले दिन सकेनौं । मधेशमा जुन प्रकारको उपस्थिति हुनु पर्ने हो त्यो उपस्थिति भएन कि भन्ने अनुभूति हामीलाई हुन थालेको छ । जसको दबाब स्वरुप पार्टीलाई रूपान्तरणमा लानै पर्छ भनेर हामीले दबाब पनि दिइरहेका छौं ।

एकीकरणको समयमा संयोजक पालैपालो हुने भन्ने कुरा चक्रीय प्रणाली हो । एकीकरणको समयमा यस बारेमा कुनै कुरा भएको थिएन । तर दस्तावेजमा भने त्यो कुरा उल्लेख भएर आयो । यो ठूलो विषय भएन । सबैलाई के कुरा थाहा छ भने हामीसँग लोकतान्त्रिक आन्दोलनका योद्धा, मधेश आन्दोलनका योद्धा छन् । महन्थ ठाकुर जस्ता अनुभवी, त्यागी, सर्वमान्य नेताले नेतृत्व गर्नुभएको छ । उहाँकै नेतृत्वले आज हामी यहाँसम्म आइपुगेका छौं । दस्तावेजमा उल्लेख भएको चक्रीय प्रणालीलाई अध्यक्ष मण्डलको बैैठकले त्यसलाई खारेज गरिसकेको छ ।

यहि १४ गते राजपाको अध्यक्ष मण्डलको बैठक बस्दैछ र २५ गते राजनीतिक समितिको बैठक बस्दैछ । आवश्यक परेको खण्डमा पदाधिकारी बैठक पनि राजनीतिक समितिको निर्णयबाट गर्छौं । होइन भने त्यसै बैठकबाट पार्टीको भावी कार्यदिशाको बारेमा छलफल गर्नेछौं । महाधिवेशनमा पार्टीलाई लैजाने हाम्रो अभिप्रायः हो । संसदीय दलको नेताको विषयलाई पनि अध्यक्ष मण्डलको बैठकबाट टुंगोमा पुर्‍याउनेछौं । राजपा नेपालको संयोजक महन्थ ठाकुर नै संसदीय दलको नेतामा पनि हुनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । खासगरी सांसद र संसद सम्बन्धी विषय भएको हुनाले सांसद साथीहरूले पनि यो कुरालाई मान्नु हुनेछ । विगत एक दशकदेखि महन्थ ठाकुरजी राजनीतिमा कुनै पनि पदप्रति आशक्त नभएको व्यक्तित्व, उहाँलाई कुनै पदको आवश्यक्ता छैन । उहाँका लागि दुईवटा पद मात्र छ, एउटा राष्ट्रपति अर्को प्रधानमन्त्री । होइन भने उहाँ पार्टीकै संयोजक हुनुहुन्छ । यदि उहाँ संसदीय दलको नेता बन्नुभयो भने पनि भोलीका दिनमा अन्य क्षमतावान साथीहरू हुनुहुन्छ । उहाँहरू नै शक्तिको एकीकरण बन्नुस् । उहाँहरूले नै त्यो मौका पाउनुहुनेछ । त्यसकारण उहाँको स्वीकार्यतामा प्रश्न उठेर संसदीय दलको नेता चयन गर्न सकिन्छ जस्तो मलाई लाग्दैन ।

संसदीय दलको नेता चयन गर्न नसक्नुको प्रमुख कारण त संयोजकको शारिरीक अस्वस्थता नै हो । अन्य पार्टीले पनि भर्खर मात्र चयन गरेको छ । हामी पनि यसको प्रक्रियामा छौं । विवाद भन्ने छैन । अर्को कुरा राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक प्रक्रिया अनुसार नै अगाडि बढ्छ । सबैको सर्वसम्मत निर्णय भए झनै राम्रो भयो । यदि सर्वसम्मत निर्णय भएन भने लोकतान्त्रिक प्रक्रियाअनुसार चुनाव नै होला । त्यसकारण यसमा विवाद भन्ने नै छैन । यसको निर्णय पनि छिट्टै नै हुनेछ । राजपा नेपालका सहमहामन्त्री झासँग मधेशवाणीले गरेको कुराकानीमा आधारित ।

(मधेश दर्पण फिचर सेवा)

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: