हिउँ परेपछिको चन्द्रागिरि उपत्यकावासीका लागि आकर्षक गन्तव्य



चन्द्रागिरि : उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो ।

नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो । दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक हिउँसँग खेलेर औधी मनोरञ्जन लिए ।

यस्तै त होला नि स्वर्गझैँ अनुभूति भयो, चारैतिर सुन्दर दृश्य, क्षितिजमा देखिएको हिमशृङ्खला, सेताम्मे हिउँ अनि त्यही हिउँमा खेल्न पाउनु जीवनकै ऐतिहासिक क्षण बन्यो ।, मैतीदेवी बस्दै आएका सिन्धुलीका जीवन दाहालले अनुभव सुनाए । उनीसँग गफिँदा साथीहरु निरज भट्टराई, विश्व थापा र आशिष पाल हिउँ छ्यापाछ्याप गरेर खेल्दै थियो । हरेक पाखापखेरा, थुम्को र डेउडीमा हिउँसँग रमाइरहेका युवाहरुको झुण्ड पनि देखिन्थ्यो ।

बिहानै हिउँ परेको हल्ला मच्चिएपछि हतार–हतारमा मोटरसाइकल निकालेर चन्द्रागिरि पुगेको भक्तपुर निवासी राकेश पटेलले बताए । साथी कृष्ण रामसँग पहिलो चोटी चन्द्रागिरि टेक्नुभएका पटेललाई यहाँको सुन्दरताले मन्त्रमुग्ध बनायो । सुन्दर दृश्य र हिमाल देख्यौँ, हामीले हिउँमा खेल्न पायौँ, यो भन्दा आनन्द अरु के हुनु, पटेलले भने ।

काठमाडौँको दक्षिण–पश्चिममा पर्ने आन्तरिक पर्यटकको आकर्षणको केन्द्रविन्दु चन्द्रागिरिले केबलकार सञ्चालनमा आएपछि काँचुली फेरेको छ । प्रायः सार्वजनिक बिदा र शनिबारको दिनमा करीब दुई हजार पर्यटक यहाँ आउँछन् । हिउँ परेको समयमा दोब्बर पर्यटक पुग्ने गरेको अनुभव केबलकारका कर्मचारीले बताए ।

धार्मिक र ऐतिहासिक महत्व बोकोको यहाँ मङ्गलबार राति २ बजे पहिलो पटक र बुधबार बिहान ५ बजे दोस्रो पटक हिउँ परेको चन्द्रागिरि हिल्सका इलेक्ट्रिकल इञ्जिनीयर सुनिल शर्माले बताए । उपत्यकावासीका लागि हिउँ परेपछिको आकर्षक गन्तव्यमध्ये चन्दागिरि, नगरकोट, फुल्चोकीलगायत बनेको छ । दुई हजार ५५१ मिटर उचाइमा रहेको यो ठाउँ पर्यटकका लागि सबैभन्दा सहज क्षेत्र मानिन्छ ।

धुलो, धुवाँ र उपत्यकाको कोलाहलबाट छुटकाराका लागि शान्त, रमणीय र स्वच्छ वातावरणले मोहित बनाउने चन्द्रागिरि दृश्यावलोकनका लागि पनि आकर्षक गन्तव्य हो । बालाजुबाट यहाँ पुगेका साहिल गौतमले हिमाललाई केन्द्रित गरेर तस्वीर लिए । उनले भने, भ्यू राम्रो देखिने रहेछ, बसौँबसौँ लागिरहने, खेलौँखेलौँ लागिरहने ।

पृथ्वीनारायण शाहले सबैभन्दा पहिले उपत्यकाको अवलोकन गरेको ठाउँ भएकाले यसको ऐतिहासिक महत्व छ । दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पृथ्वीको परिक्रमा गर्दा सतीदेवीको भला अर्थात् निधार पतन भएको स्वस्थानीमा उल्लेख भएको भालेश्वर महादेवको मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्व पनि बढेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यहाँबाट उत्तर र पूर्व क्षेत्रमा सुन्दर हिमाल देख्न सकिन्छ भने दक्षिणमा चित्लाङलगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । आकाश खुलेका बेला सिङ्गो उपत्यका नियाल्न सकिन्छ । उपत्यकावासीका लागि समय बिताउने थलो बनेको चन्द्रागिरिमा मन्दिर दर्शनसँगै भरपूर मनोरञ्जन पनि लिन सकिने ठाउँ छ ।

अघिल्लो पटक हिउँ पर्दा केबलकारको १९ गण्डौला (डिब्बा) सञ्चालनमा हुँदा पर्यटकको चाप धान्न मुस्किल परेकाले यसपटक भने थपेर ३८ पुर्याएकाले खासै समस्या नभएको सिभिल सवइञ्जिनीयर दीपेन्द्र ब्रविजेले बताए । अहिले हिउँले गर्दा आन्तरिक पर्यटकको चापाचाप छ, यो क्रम दुई-तीन दिन रहन्छ”, उनले भने ।

खानाका पारखीलाई विभिन्न परिकारका खानेकुरासँगै आवासको समेत सुविधा चन्द्रागिरिमा छ । बाल उद्यान, भ्यूटावर तथा आकर्षक संरचनाले महत्व थपेको छ । यहाँ पुग्दा सबै दुःखपीडा भुलेको महसुस भयो, ठमेलबाट हिउँ खेल्न पुगेका पर्यटन व्यवसायी रमेश सिलवालले भने । यहाँको दृश्य अनौठो र अन्य क्षेत्रको भन्दा फरक लाग्ने भएकाले पनि बेलाबेलामा पर्यटकसमेत लिएर पुग्ने गरेको र पर्यटकले समेत रमाइलो मानेको उनको भनाइ थियो ।

थानकोटबाट करीब १० मिनेटको केबलकार यात्रामा चन्द्रागिरि पुगिन्छ । काठमाडौँको उकुसमुकुस वातावरणबाट छुटकारा पाउने विकल्प रहेको यहाँबाट देखिने दृश्य क्यामरामा कैद गर्न तँछाडमछाड हुन्छ । अझै हिउँ परेको बेलामा मानिसको भीड थेग्न हम्मेहम्मे पर्छ । बुधबार वल्लो पाखाबाट पल्लो पाखामा हिउँ छ्यापाछ्याप गरेर मनोरञ्जन लिने युवा जमात प्रशस्तै देखिन्थ्यो ।

नागबेली परेका सडक अर्को आकर्षक थियो । क्षितिजमा देखिने हिमशृङ्खला र हरियालीसहितका सुन्दर टाकुराहरु साँच्चै स्वर्गको कल्पनामा रमाउन सकिने थियो । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि समेत उपयुक्त स्थान भएकाले चन्द्रागिरिले नलोभ्याउने कोही नहोलान् । नारायण ढुङ्गाना / रासस

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: