हाम्रो बारेमा

विश्वव्यापी प्रविधिको विकास क्रमले गर्दा एक्काइसौं शताब्दीलाई डिजिटल युग भन्ने गरिएको छ, यस्तो अवस्थामा सूचना तथा सञ्चारको रुप र प्रकृति पनि फेरिँदै गएको छ । न्यू मिडिया भनिने डिजिटल मिडियाले परम्परागत सञ्चारमाध्यमहरूलाई चुनौती दिन थालिसकेका छन् । विश्वका प्रमुख र चर्चित सञ्चारमाध्यमहरूले आफ्नो छापा संस्करणलाई कतिले बन्द गरेर वा कतिले परिमार्जित गरेर डिजिटल मिडियामा लगिसकेका छन् ।

नेपालका सन्दर्भमा केही समययता अनलाइन सञ्चार माध्यमहरूको बाढी नै आएको छ भन्दा पनि हुन्छ, तर वस्तुनिष्ठ र सन्तुलित समाचारका लागि आमपाठकहरू अलमिलनु परिरहेको छ । सिद्धान्ततः पत्रकारिताले पक्षधरता लिनु हुँदैन भनिन्छ, तर व्यवहारिक धरातलमा नेपालको आमसञ्चार क्षेत्रले २००७ सालयता नै फरक–फरक समयममा देश, जनता र लोकतन्त्रका लागि आफ्नो पक्षधरता लिएकै देख्न सकिन्छ । नेपालमा पत्रकारिताको इतिहास एक शताब्दीभन्दा लामो भइसकेको र लोकतन्त्र पुनःस्र्थापनापछि अभिव्यक्ति स्वतन्त्रताका हकलाई आधार बनाउँदै स्वतन्त्र अनि व्यावसायिक पत्रकारिता फस्टाएको करिब तीन दशक भइसके पनि यहाँको पत्रकारिता अझै किशोरावयमै छ ।
अहिलेको युगमा सामाजिक सञ्जालहरूको उदय, स्मार्टफोन, वाइफाइ हुँदै लाइफाइ, फोरजीजस्ता अत्यधिक द्रूत इन्टरनेट सेवासमेतको उदयले नागरिक पत्रकारिताको नयाँ अभ्याससमेत आरम्भ भएको छ । यस्तो अवस्थामा समाचारको ३६० डिग्रीको मूल अवधारणासहित हामीले गोक्योन्यूज, डिजिटल पत्रिका सञ्चालन गरिरहेका छौं ।

गोक्यो विश्वकै सर्वाधिक उचाइमा रहेको ताल हो । सगरमाथाको काखमा अवस्थित गोक्यो ताल ताजा पानीका तालहरूमध्ये पवित्र र प्रसिद्ध छ । गोक्यो रि ताल ५ हजार ३ सय ६० मिटर उचाइमा रहेको छ । यस स्थानमा रहेर विश्वको अग्लो सगरमाथा लगायत ल्होत्से, चोयु, मकालु हिमश्रृंखलाहरु देख्न सकिन्छ । गोक्यो विश्वकै अग्लो स्थानमा रहेको रामसार क्षेत्र पनि हो ।

जसरी गोक्योले हिमाली ताल र पर्वतीय सुन्दरका सबै आयामलाई प्रतिनिधित्व गर्दछ, त्यसैगरी हामी समाचारका सबै कोणलाइ सही र उत्तम ढंगले प्रस्तुत गर्दछौं । नागरिक पत्रकारिता अर्थात् हरेक नागरिकबाट प्राप्त हुने प्रमाणसहितका विश्वसनीय सूचनालाई हामी स्रोतका रूपमा प्रयोग गरी समाचारका आधारभूत मूल्यमान्यतालाई टेक्दै पस्कने छौं । नेपालका हकमा यो नयाँ अभ्यास हो । हामी सतहमा देखिएका समाचार सम्प्रेषण गर्नेमात्र होइन, समाचारको अर्को पाटो पनि पस्कने छौं ।

समाचारमा द्रूतता, विश्वसनीयता, देश, नागरिक र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र पहरेदारीका साथ नागरिकको सूचनाको हकको दायित्व पूरा गर्न हरपल, हरघडी समर्पित रहने छौं ।

सम्पादकीय  नीति

१. हामी नेपालको संविधान २०७२ ले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव उभिदै संविधानप्रदत्त व्यक्तिका सूचनाको हकका लागि सदैव तठस्थ भइ वस्तुनिष्ट समाचार प्रवाह गर्नेछौं ।

२.  लोकतान्त्रिक गणतन्त्र , राष्ट्रिय अखण्डतता र समन्यायिक विकासका पक्षमा हाम्रो पहरेदारी कायम रहनेछ ।

३. पत्रकारिताको पेशागत निष्ठा, सम्पादकीय स्वतन्त्रता, समाचारको त7स्थता, विश्वसनीयता, वस्तुनिष्ठता र शुद्धतालाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हुनेछ ।

४. सम्पादकीय स्वतन्त्रतामा आँच पुग्ने आसयको कुनै पनि बाह्य हस्तक्षेपबाट मुक्त भई विषयवस्तु छनोट, तयारी, उत्पादन र प्रकाशन तथा प्रशारणका सम्पूर्ण प्रक्रियाहरूमाथिको निर्णय र नियन्त्रणमा सम्पादन कक्षको सार्वभौम सर्वस्वीकृत मान्यतालाई आत्मसात गरिनेछ ।

५. पत्रकार आचारसंहिता २०७२ ले तोकेका सीमा, दायरा र दायित्वका हामी पूर्ण पालना गर्नेछौं । सूचना तथा समाचार सम्प्रेषणका क्रममा प्रचलित कानुन, नियम, मापदण्डप्रति हामी पूर्ण प्रतिबद्ध छौं ।

६.  यस डिजिटल पत्रिकामा प्रकाशित सामग्री अनलाइन मिडिया सञ्चालन निर्देशिकाको व्यवस्थाअनुसार  प्रकाशित भइसकेपछि कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाईने छैन,  तर प्रकासित समाचारमा तथ्यगत त्रुटि भएमा गल्ती सच्याउन सदैव तत्परता देखाइने छ ।

७. समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस कानुन, आचारसंहिता तथा नियमहरूका आधारमा उपयुक्तताका अाधारमा प्रकाशित गरिनेछ ।

८. समाचार स्रोतहरूका गोपनियता, प्रचलित कानुनले तोकेअनुसार अदालती प्रकृयाहरूमा बाहेकका अवस्थामा कायम राखिनेछ ।

९. बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा अन्य  विशेष ध्यान दिनुपर्ने समुदायका विषयमा सूचनाका संवेदनशीलतामा ध्यान दिइनेछ ।

१०. सामाजिक विभेद ल्याउने, अतिरञ्जना वा मानिसहरूमा घृणा अथवा त्रास सिर्जना हुने कुनै पनि समाचार र विचारलाई प्राथिमकता दिइने छैन ।

सल्लाह, सुझाव वा प्रतिक्रिया तथा समाचार, लेख, रचना एवं तस्वीरका लागि gokyonews@gmail.com मा इमेल गर्नुहोस् ।

हाम्रो फेसबुक पेज  मा लाइक गरेर पनि गोक्योन्यूज.कमका साथमा रहन सक्नुहुनेछ ।

त्यस्तै हाम्रो ट्वीटर एकाउन्ट  मा follow गरेर पनि समाचार र सूचनाहरु प्राप्त गर्न सक्नुहुनेछ |

error: