स्वस्थानी व्रतकथा, भाग – १७ (विष्णुले बन्नुपर्यो – झार, घाँस, रूख र ढुङ्गो)



कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! यता युद्धभूमिबाट महादेवले विष्णुलाई विदा दिएर वृन्दा कहाँ पठाएउप्रान्त जालन्धरसँग युद्ध गर्न लाग्नुभयो । त्यहाँ दुवैतर्फबाट घोर घमासान सङ्ग्राम पर्न गयो । उता विष्णुले वृन्दाको पतिव्रता धर्म नष्ट गरिसकेका कारण शक्ति क्षीण हुन गएका जालन्धर युद्ध गर्न नसकी आकाशमा गएर मायायुद्ध गर्न लाग्यो । महादेवले पनि आकाशमा नै गई युद्ध गर्दा जालन्धरलाई बलहीन हुँदै गएको थाहापाउनु भयो । त्यसपछि ‘अव त विष्णुले वृन्दाको सत्यलाई नाश गरिदिनुभएछ’ भन्ने बुझी महादेवले आफ्ना दाहिने हातमा लिएको त्रिशूलले जालन्धरको छातीमा ताकी, तीनै आँखाबाट आगाको ज्वाला निकाली, क्रोधले पूर्ण भएर प्रहार गर्नुभयो । त्यो त्रिशूल सिधै गएर जालन्धरका छातीमा लाग्यो । जसका चोटको वेदना सहन गर्न नसकी जालन्धरका प्राणपखेरू उडे र अन्तःपुरको चोकको मध्यभागमा ठूलो आवाजकासाथ उसको प्राणरहित देह गिर्न पुग्यो । त्यस्तो डरलाग्दो आवाज अकस्मात् सुनेपछि ‘के को शब्द हो ?’ भनी दगुरेर चोकमा पुग्दा वृन्दाले आफ्ना स्वामीको मृत शरीरलाई देखिन् । यो देखेर वृन्दाले अनेक तरहका रोदन र विलाप गर्दै भन्न लागिन् – ‘हे स्वामी ! मलाई यो अवस्थामा एक्लै छाडी हजुर कहाँ गइबक्सियो ? पापिष्ठ विष्णुका छलले गर्दा आज मैले हजुरलाई यो स्थितिमा देख्नुपर्यो । हजुरविना अब मेरो प्राण कसरी टिक्ला ? हे प्राणनाथ ! हजुर जहाँ जानुभयो म पनि त्यहीं आउँछु ।’ यत्ति भनी कपाल फिँजाई विष्णुतिर फर्किएर रुँदै र अलापविलाप गर्दै रिसाएर भन्नलागिन् – ‘हे विष्णु ! तिमीले छलकपट गरी मेरो पतिव्रता धर्म डगाइदियौ, जसले गर्दा आज मेरो स्वामीको यो अवस्था भयो । तिमीले झार हुनुपरोस्, तिमीले घाँस हुनुपरोस्, तिमीले रुख हुनुपरोस्, तिमीले ढुङ्गा हुनुपरोस्, यत्ति चारवटा श्राप मैले तिमीलाई दिएँ ।’ तहाँउप्रान्त विष्णुलाई यति चार किसिमका श्राप दिई उनी पनि जालन्धरकासाथ सती गएर प्राण त्याग गरिन् ।

हे अगस्त्य मुनि ! पतिव्रताले दिएको श्राप विष्णुलाई लाग्न गयो । झार हुनुपरोस् भनेकोमा तुलसी, घाँस हुनुपरोस् भनेकोमा कुश, रुख हुनुपरोस् भनेकोमा पिपल र ढुङ्गो हुनुपरोस् भनेकोमा शालिग्राम हुनुपर्यो । यसकारण तुलसी, कुश, पिपल र शालिग्रामलाई विष्णुको रूप मानी पूजा गर्नाले साक्षात् ईश्वर नारायणको पूजा हुन्छ । पतिव्रता नारीको ठूलो महिमा छ, त्यस्तै पत्नीव्रताको पनि । पतिव्रता धर्म भनेको ठूलो धर्म हो, त्यस्तै पत्नीव्रता धर्म भनेको पनि ठूलो धर्म हो । पत्नीव्रता तथा पतिव्रताले दिएको आशीष होस् वा श्राप तत्काल लाग्छ । त्यसैले यदि स्त्री पुरुष आफ्नो धर्ममा बस्छन् भने उनीहरूलाई सम्पूर्ण ब्रह्माण्डका मालिक महादेवै आएपनि कसैले केही पनि गर्न सक्दैन । यसको उदाहरणका रूपमा जालन्धर र वृन्दालाई लिन सकिन्छ । यसरी पतिव्रता वृन्दाका श्राप पाई महादेवसित गई विष्णुले सारा वृत्तान्त भन्नुभयो र अब वृन्दाको श्रापलाई मोक्ष गर्न जान्छु भनेर ठूलो पश्चात्ताप मान्दै विष्णु गएर तुलसी, कुश, पिपल र शालिग्राम भएर अहिलेसम्म त्यही रूपमा रहिरहनु भएको छ । तहाँउप्रान्त विष्णु गएपछि आफू महादेव पनि साँढेमाथि चढी, ब्रह्मादि देवता अघिपछि लगाई ढोल, मादल, नगरा, तुरही आदि बाजा बजाई हिँडेका गणमा पछिपछि अप्सराहरूले नाच्दै र गन्धर्वहरूले गाउँदै, फूल र अवीरको वर्षा गर्दै, ठूलो उत्सवका साथ विजययात्रा गरी कैलाशमा आइपुगी मुख्यद्वारबट प्रवेश गरी भूत, प्रेत र प्रमथगणले सहित भई शिवशक्ति स्वरूपले रहनुभयो । साथमा आएका ब्रह्मादि देवताहरू पनि महादेवसित विदा भई आआफ्ना लोकमा गई परम आनन्दका साथ रहँदा भए ।

हे अगस्त्य मुनि ! यहाँसम्म स्वर्गपट्टिका कथा सुनाएँ । अब पातालपट्टिका कथा सुनाउनेछु । सबै श्रोता सहित तपाईले ध्यानपूर्वक सुन्नुहोला । कुनै एक समयमा पार्वतीको आज्ञाअनुसार अश्वत्थामा ऋषि सप्तपातालहरू मध्येको रसातल नाम गरेको लोकमा पठाइएका थिए । यो कुरा मैले तपाईंलाई चौधौं अध्यायमा सुनाएको थिएँ । रसातललाई उनले कस्तो देखे भने सूर्यको जस्तो ज्वाज्वल्यमान तेज भएको, अनेकौं रत्नहरू जडिएर निर्माण गरिएको, सुवर्ण नै सुवर्णले बनिएको र त्यसमा अरु धेरै सम्पत्ति भरिएको शेषनाग, तक्षक नाग, कर्कोटक नाग, पद्म नाग, शङ्खपाल नाग, कुलिक नाग, वरुण नागहरूले वास गरेको, नगिनीहरूले पनि हिरा, मोती, मणिमाणिक्यादि जडिएका आभूषण लगाइएको, रङ्गिविरङ्गी उत्तम/उत्तम वस्त्र पहिरी ऊभन्दा ऊ राम्री, ऊभन्दा ऊ झन् राम्री भएर रहेका, यस्ता यस्ता सुन्दर महल, उद्यान, सरोवर र नागनगिनी भएका सुन्दर पुरीमा उनी पुगी शेषनागका दरवारमा गए । अतिथि आएको देखी शेषनागले स्वागत गरी उच्च आसनमा बसाली सम्मानपूर्वक पाद्य, अर्घ्य आदि दिई नैवद्य भेटी चढाए । यस्ता किसिमले उच्च सम्मान पाएका अश्वत्थामाले भने – ‘हे शेषनाग ! अहिले म सिधा कैलाशबाट आउँदैछु । भगवती पार्वतीको आज्ञा लिएर म यहाँ आएको हुँ । ‘यहाँ जो दुःखी छन्, जो रोगी छन्, जो सन्तानले रहित छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जो शारीरिक र मानसिक रोगका कारण अशान्त छन्, ती सबलाई स्वस्थानी परमेश्वरीको व्रत गराई उद्धार गर्नू’ भन्ने माता पार्वतीको आज्ञा छ । यहाँ कोही त्यस्ता छन् भने मलाई बताउनुहोस् ।’ ऋषिको आशय बुझेपछि शेषनागले भने – ‘हे अश्वत्थामा ऋषि ! माता पार्वती धन्य हुनुहुन्छ । आफ्ना सन्तानको कल्याण सम्झिई तपाईंलाई पठाउनुभएको रहेछ ।’ यति भनी धेरै टाढामा रहेको एउटा ठूलो वनतिर औंल्याउँदै शेषनागले फेरि भने – ‘हे गुरु ! ऊ त्यो परको ठूलो वनको नजिकमा शङ्खचूड नाग, कृपादत्त नाग र धार्तराष्ट्र नागहरूका स्त्रीहरू दुःख पाएर बसेका छन् । त्यहाँ गएर तिनको उद्धार गराई दिनुहोस् । यहाँ मेरा छेउछाउमा धनका दरिद्री ता कोही छैनन्, तर मनका दरिद्री भने निकै छन् । तिनलाई पनि म तपाईंका कुरा सुनाउँला । लुला, लङ्गडा, काना, खोरण्डा, रोगी र लोभीहरू पनि कोही भेटे म तपाईंलाई खबर गरुँला ।’

शेषनागका यति कुरा सुनिसकेपछि अश्वत्थामा ऋषि पनि दुःख पाएका नगिनीहरूको वास पहिल्याउँदै त्यता लागे । शङ्खचूड नागकी स्त्री हीरावती, रत्नचूड नागकी स्त्री रत्नावती, कृपादत्त नागकी स्त्री मृगावतीहरू पतिपत्नीमा ठूलो प्रेमप्रीति गरी बसेका थिए । तर दिन काल र दैव दशाले गर्दा ती नागनगिनीहरूले असाध्यै दुःख र कष्टका दिनहरू खेप्नुपर्यो । कुनै दिन ठूलो सुख र ऐश्वर्यमा रहेर आज ठूला दुःख र कष्टका दिन देख्नुपरेकोले घरमा अडिन नसकेर शङ्खचूड, कृपादत्त, धार्तराष्ट्र नागहरू घरको दुःख टार्न र आफ्ना स्त्रीहरूलाई सुख दिलाउन सकिन्थ्यो कि भन्ने मनसुवा गरी धन आर्जन गरेर ल्याऊँ भनी सल्लाह गरी परदेश गएका थिए । यसरी घर छोडी गएका पतिहरू कहिले धन लिएर आउलान् भनी नगिनीहरू दुःखका दिनहरू बिताई आआफ्ना घर रुँगेर बसिरहेका थिए । धेरै दिनकाल बितिसक्दा पनि पतिहरू नआएकाले तीनैओटी नगिनीहरू ‘अब कसो गरौं ? कता जाऊँ ? पतिहरूको खबर कसरी बुझौं ?’ भनी मानसिक चिन्ताले दुःखी भएर घरछाडी वनमा आएर बसेका पनि बाह्र वर्ष बितिसकेको थियो । एकातिर पतिहरू नआइपुगेका र अर्कातिर झन् भन्दा झन् दुःख पाउँदै गएकाले हाड र छाला मात्र भएका नगिनीहरू साह्रै विह्वल भएका थिए । यता शेषनागले देखाएका वनमा जाने बाटो लिई दुःखका सागरमा डुबेका नगिनीहरूलाई खोज्दै, बोलाउँदै, अश्वत्थामा ऋषि बल्लतल्ल त्यहाँ पुगे । टाढैबाट कोही बोलाउँदै आएका सुनी नगिनीहरू आफ्ना गुफाबाट बाहिर निस्की कोही ऋषि आएको देखी वस्त्रले ढाकेको शिर झुकाई प्रणाम गरेर सोधे – ‘हे महात्मन् ! आज हामी दुःखिनीहरूका गुफामा पाइलो पारिदिन कताबाट के कामले कष्ट गर्नुभयो ?’ यो सुनी अश्वत्थामा ऋषिले भने – ‘हे नगिनी हो ! म अश्वत्थामा ऋषि हुँ । जगज्जननी पार्वती माताको आज्ञापछि संसारमा जो दुःखी छन्, जो रोगी छन्, जो दरिद्री छन्, जो सन्तानले रहित छन्, जसका स्त्री छैनन्, जसका पुरुष छैनन्, जो शारीरिक र मानसिक व्यथाले पीडित छन् त्यस्तालाई स्वस्थानी परमेश्वरीको विधि र नियमपूर्वक व्रत गराई तिनको उद्धार गर्न आएको हुँ ‘

हे अगस्त्य मुनि ! अश्वत्थामाका मुखारविन्दबाट दया, धर्म र प्रेमले भरिएका अति मीठा वाणी सुनेर नगिनीहरूले मनमा आनन्द मानी आसनमा बसाई – ‘हे ऋषेश्वर ! हामी दुःखी पनि छौं, दरिद्री पनि छौं, पापिनी पनि छौं, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन् ‘ भनी ‘आफ्ना पतिहरू परदेश गएका, आफूहरूले दुःख पाएको, घर छोडी वनमा आएर दिन विताउँदै गरेको’ कुरा बताए । तिनीहरूको कुरा सुनेर हृदयभित्रबाट दया गर्दै अश्वत्थामा ऋषिले भने ‘हे नगिनीहरू हो ! अब तिमीहरूको अवश्य कल्याण हुनेछ । पतिहरू आइपुग्नेछन् । अनि सुखका दिन फर्किनेछन् । अब तिमीहरू एकचित्त भई सुन । सबैभन्दा पहिले अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले स्वस्थानी परमेश्वरीको व्रत गरी जगदीश्वर महादेवलाई स्वामीका रूपमा पाउनु भएको थियो । अब म तिमीहरूलाई यो पुण्यविधि सुनाउँदै जानेछु -‘पौषशुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी, भोलिपल्ट पूर्णिमाका दिनदेखि सक्नेले नित्यस्नान गर्ने, अशक्त रोगीले पञ्च स्नान गरी शरीर र मनलाई शुद्ध राखी, एकभक्त र एकचित्त रही, हविष्य (होम गर्नाका लागि तैयार गरेका पदार्थहरू, व्रत यज्ञ आदिका अघिल्ला दिन उपासकले खाने सात्विक भोजनहरू, हविष्यान्न) भोजन गरी मेरा यिनै मनोकामना सिद्ध होउन् भन्ने भावना लिई, रिस, राग, छलकपट, द्वेष, जस्ता नराम्रा दोषहरू मनमा पस्न नदिई एक महिनासम्म नित्य मध्याह्नकालमा वालुवाको शिवलिङ्ग बनाई पञ्चोपचारले महादेवको पूजा गर्नू, गोबरको कुण्ड बनाई अर्घ्य दिनू, धूपबाती गर्नू, श्री स्वस्थानी परमेश्वरीको कथा एक/एक अध्याय गर्दै महिना दिनसम्म सुन्नू र जेजस्तो जुटाउन सकिएको छ पञ्चामृत, नैवद्य आदि कथाको प्रसादका रूपमा अरुलाई पनि बाँड्नू र आफूले पनि प्रसाद लिनू । यो नित्यको क्रम गर्दै लगेर माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी, नङले उधारेका अष्टोत्तर सय सग्ला अक्षता, अष्टोत्तर सय यज्ञसूत्र, अष्टोत्तर सय पान, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय नाना जातिका पुष्प आदि सगुनसमेत नाना उपचार तैयार गरी अष्टदल युक्त तामाका थालीमा राखेको आर्सीमा ॐकार लेखी त्यहीं नै श्री स्वस्थानी परमेश्वरीको षोडषोपचार विधिले पूजा गर्नू ।

सबैभन्दा पहिले गङ्गाजलले स्नान गराई पूजा प्रारम्भ गरी अरु पूजा उपचार नपुगे पनि श्रीखण्ड चन्दन, रक्तचन्दन, सिन्दूर, फलफूल, धूप, दीप, नैवद्य, वस्त्र, भेटी र अर्घ्य चढाउन नछुटाउनू । ध्यान गर्नू र श्री स्वस्थानी परमेश्वरीको ‘ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।। चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।’ मन्त्रको जप गर्नु अथवा पञ्चाक्षरी मन्त्र (ॐ नमः शिवाय) को जाप गर्नू । आरती, पुष्पाञ्जली र मन्त्र जपेर नमस्कार गरेर प्रसाद ग्रहण गर्नू । अर्पण गरिएका सबै प्रसादहरूबाट अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी, आठ वेलीपुष्प, सगुनसमेत झिकी आफ्ना पुरुषलाई दिनू, पुरुष नभए पुत्रलाई दिनू, पुत्र नभए मीतपुत्रलाई दिनू, मीतपुत्र पनि नभए आफ्नो नजिकका नातालाई दिनू र कोही नभए आफूले जुन मनोकामना लिएर व्रत लिएको हो सोही सिद्ध होस् भनी शाली नदी वा कुनै समुद्रमा मिसिन जाने जलाशय वा नदीमा लगी बहाइदिनू । आठ/आठका दरले छुट्याएर बाँकी रहेकामध्येबाट सय/सय चाहीँ आफूले लिनू । पूजा सकेका दिन साङ्गेका दिन त्यो रातभरि जागरण बसी भजन, कीर्तन र नाचगान गर्नू । भोलपल्ट नदी, तलाउ, मन्दिर, देवीस्थान वा देउरालीमा लगी फूलपाती सेलाउनू । यसो गर्नाले तिमीहरूको दुःख अवश्य नाश हुनेछ र हे नगिनीहरू हो ! तिमीहरूका पतिहरू पनि आइपुग्नेछन्, अनि तिमीहरूको इहलोकको जीवन धन र ऐश्वर्यले परिपूर्ण हुनेछ तथा मरणोपरान्त कैलाशलोकमा पुगी शिवसायुज्य मुक्ति प्राप्त हुनेछ । यसमा कुनै सन्देह छैन ।’

अश्वत्थामा ऋषिले यति भनिसकेपछि नगिनीहरूले अत्यन्त खुसी भई भने – ‘हे गुरु ! हामी स्त्री जातिले तपाईंले भन्नु भए झैं पूर्ण गर्न सकौंला के ? बरु तपाईं आफै बसी यो पुण्यदायक पवित्र श्री स्वस्थानी परमेश्वरीको व्रत गराई हामी अभागिनीहरूको उद्धार गरिदिएर जानुहोला ।’ यति भनी अश्वत्थामा ऋषिलाई श्रद्धापूर्वक आफ्ना घरमा लगी गुरु मानी राखे । केही समयपछि पौषशुक्ल चतुर्दशीको दिन आइपुग्यो र सो दिनदेखि व्रतको आरम्भ गराई एक महिना पूर्ण भएपछि माघशुक्ल पूर्णिमाका पवित्र तिथिमा पूजाका सम्पूर्ण सामग्री तैयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा गराई पूजाको विसर्जन हुनुअघि अश्वत्थामा ऋषिले भने – ‘हे नगिनी हो ! अब अर्घ्य, ध्यान, जप, स्तोत्रको पाठादि गर ।’ नगिनीहरूले पनि अह्राएअनुसार गरेर मनमनै प्रार्थना गरे – ‘हे ईश्वरी ! हामीले गरेका पूजापाठबाट सन्तुष्ट हुनुहोस् । हामीलाई यो दुःखका सागरबाट पार गराई दिनुहोस् ।’ एकचित्त र पवित्र मन गरी बसेका नगिनीहरूका भक्तिदेखि प्रसन्न भएकी श्री स्वस्थानी परमेश्वरी अकस्मात् हजार सूर्यको जस्तो तेज लिएर पूर्व दिशाबाट प्रत्यक्ष प्रकट हुनुभयो र ‘हे भक्त हो ! तिमीहरूले गरेका अनुष्ठानबाट म सन्तोष भएँ, जे इच्छा छ, वरदान माग ‘ भन्नुभयो । परमेश्वरीको आज्ञा सुनी नगिनीहरूले ‘हे माता ! हाम्रो दुःख र कष्टको नाश होस्, दुर्दिन जाओस्, हाम्रा स्वामीहरू चाँडै घर आइपुगून्’ भनी वरदान मागे । परमेश्वरीले तिम्रो इच्छा पुगोस् भनी ‘तथास्तु’ भन्दै वरदान दिई अन्तर्धान हुनुभयो । जब नगिनीहरूले प्रसाद झिक्नै लागेका थिए, त्यसै बखतमा स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले नागहरू आइपुगे । नगिनीहरूले आफ्ना पतिहरूलाई धेरैपछि देख्न पाउँदा मनैदेखि हर्षविभोर भई ‘धन्य ! धन्य ! श्री स्वस्थानी परमेश्वरी !’ भनी चढाइएका प्रसादहरूबाट आठ अक्षता, आठ वेलीपुष्प, आठ रोटी, आठ सूत्र, आठ पान, आठ कुड्का सुपारी, सगुनसमेत आआफ्ना पुरुषहरूलाई दिई ढोगिदिए । अश्वत्थामा ऋषिलाई पनि श्रद्धापूर्वक भोजन दक्षिणा दिई सन्तुष्ट गराए । पूजामा आएका अरु पनि श्रद्धालु भक्तहरू, दुःखी, दरिद्री, पुरुष नहुने, स्त्री नहुने, सन्तान नहुने, अपाङ्ग, रोगी, शारीरिक मानसिक रोगले व्याकूल भएका र मनका दरिद्रीहरू सहितले श्री स्वस्थानी परमेश्वरी माताको प्रसाद पाएर सबै सन्तापहरूबाट दूर रही धन्य ! धन्य ! भए । यसरी लोकको उद्धार गराएर अश्वत्थामा ऋषि पनि नागनगिनीहरूसित विदा भई आफ्ना आश्रममा गए । नगिनीहरू पनि आआफ्ना स्वामीहरूका साथ त्यस दिनदेखि ठूलो ऐश्वर्य प्राप्त गरी परम आनन्दले रहन लागे । हे अगस्त्य मुनि ! श्री स्वस्थानी परमेश्वरी माताको महिमा अपरम्पार छ ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां नागलोके स्वस्थानी-व्रत-अनुष्ठान-वर्णनं नामाष्टादशोऽध्यायः ।।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: