सन्दर्भ राष्ट्रिय एकता दिवस : पृथ्वीनारायण शाह राष्ट्रनिर्माता कि विस्तारवादका नाइके ? इतिहास र बायोग्राफीसहित



काठमाडौं : भनिन्छ, इतिहासका औपचारिक हरफहरु विजेताका तरवारका धारले तोकिदिएको मापदण्डका घेराभित्र मात्रै दगुरिएका हुन्छन् । विजेतालाई महिमामण्डित गर्दै तिनको देवत्वकरण गर्नु अनि प्रशंसा र प्रशस्तीमा इतिहासका अधिकांश पानाहरु खर्चिनु यस कित्ताको इतिहास लेखनको सामान्य विशेषता नै हो । इतिहासका कालखण्डमा ‘नायक’बाट भए गरिएका भयानक अपराधहरुलाई अत्यन्तै न्यूनीकरण गरेर प्रस्तुत गर्ने, गर्नै पर्दा बाध्यात्मक परिस्थितिको उपजको रुपमा चित्रित गर्ने र अभिलेखीकरण गर्ने कर्म कुनै नौलो होइन ।

अर्कोतिर, इतिहासको निश्चित कालखण्डमा भए गरिएका घटनाहरुको अभिलेखीकरण र तिनको सत्यतथ्यमाथि प्रश्न गर्ने, शासकीय प्रभावको घेरोबाहिर उभिएर तथ्य र प्रमाणहरुको आधारमा तिनलाई केलाउने, इतिहासको लेखन एकल वीरको गाथा हैन, त्यो त आम जनताका सामुहिक समावेशीतामा आधारित हुन्छन् र सोहीअनुसार इतिहासको लेखन हुनुपर्छ भन्ने मत राख्ने र सोहीअनुसार इतिहासलाई खोतल्नेहरु पनि समाजमा रहेका पाइन्छन् ।

त्यसबाहेक, इतिहासमा घटित घटनाक्रमहरुलाई भिन्न परिस्थिति र सन्दर्भमा उभिएर आग्रह–पूर्वाग्रहको चश्माले मूल्यांकन गरिने प्रवृत्ति पनि समाजमा विद्यमान देखिन्छ । यो प्रवृत्तिले चाहिँ इतिहासलाई तत्कालीन परिस्थितिको परिदृश्यमा तथ्य र प्रमाणहरुका आधारमा वस्तुवादी मूल्यांकन गर्ने काम गर्दैन ।

नेपालको आधुनिक इतिहासमा पृथ्वीनारायण शाह त्यस्ता चर्चित पात्र हुन्, जसको इतिहासलाई मूल्यांकन गर्ने सवालमा व्यापक विवाद छ । एकाथरिले उनलाई महान नायक, राष्ट्रनायकको रुपमा चित्रित गर्ने गर्छ भन्ने अर्कोतिर उनलाई खुनी हमलावर, विस्तारवादी नाइकेको रुपमा चित्रित गर्नेहरु पनि कम छैनन् । सुनिता न्यौपाने रातोपाटी

पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए । स-साना राज्यहरुमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म त राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए । त्यो भन्दा पहिले पनि मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन । २००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको हो । योगीजीले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो त्यो यसै भन्न सकिदैन । तर, संस्थापक रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै अग्रसरतामा भयो । योगी जतिन्जेल बाँचे रास्ट्रहित कै कार्य गरेर बाँचे । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा एउटा न एउटा कार्यक्रम गरेर सबै नेपालीले मनाएका छन् ।  पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।

नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पछि भयो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धिनहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।


विषयसूची

प्रारम्भिक जीवन

पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो ।

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायणमहाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाणतरबारघोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए ।

यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए।  वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।

दाम्पत्य जीवन

उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

कार्यकालको सुरुआती वर्ष

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए।

पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु पर्यो।

नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू संकलनार्थ पृथ्वीनारायण शाह वनारस पुगे। पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसंग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे।

दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथी हमला गरे। यस पटक गोर्खाका १२-२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको संख्या १ हजार भन्दा माथि थियो। यीमध्ये केहि सैनिक खेतालाहरुको रुपमा नुवाकोट पुराइएको थियो। तत्पश्चात कालु पाडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त राणालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाए। तर जयन्त राणाले काठमाण्डौ पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिंदै थप सैनिक र हातहतियार माग गरे। तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरे। जयन्त राणाको छोरा शंखमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेकको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे। दलदर्मन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोटमा गोरखालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे। जयन्त राणा यहाँ पक्राउ परे।

नेपाल एकिकरणको प्रयत्न

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।

तनहुँमाथिको आक्रमण

नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो।

किर्तिपुरमाथि पहिलो आक्रमण

वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। किर्तिपुर्को पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए। वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे।

मकवानपुर विजय

वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे। यहा १० घन्टासम्म लडाई चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे।

गोरखा माथि आक्रमण

वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे।

किर्तिपुरमाथि दोश्रो आक्रमण

वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो। यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए।

किर्तिपुरमाथि तेस्रो आक्रमण

किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक किर्तिपुर पठाए। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे।

सल्यानसंगको सम्बन्ध

वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।

किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।

कान्तिपुरमाथि आक्रमण

पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौंका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।

काठमाडौं उपत्यका माथिको आक्रमण

किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।

कान्तिपुरमाथि आक्रमण

पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौंका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।

ललितपुरको पतन

यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिए। वि.स १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए। पाटनका राजाले विना कुनै युद्ध आत्मसमपर्ण गरे ।

भक्तपुर विजय

काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसंग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।

चौबीसे राज्यमाथि आक्रमण

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु

वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ‘दिव्य उपदेश’ समेत भनिन्छ। नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।” इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम ‘मोहन तिर्थ’ वा देवीघाटमा उनको मृत्यु भयो।

पृथ्वीनारायण शाहको लुकाइएको इतिहास

हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।

ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।

१ हजार अमूल्य ग्रन्थ ध्वस्त
गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”

भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।

राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?

मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।

सबै व्यापारी भागाभाग
यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”

भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्‍यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।

विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।

भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।

अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?

द्वैध चरित्रका शासक
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।

आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए।

पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।

यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।

यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।

नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ।

पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।

इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।

अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको !

एकीकरण हैन, सिमाना विस्तार

पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ?

इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।

हार्नेको वाहवाही, जित्नेको इतिहास खोई?
नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर।

शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे।

उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो।

भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ।

आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो। -पुष्प मुनकःमि मेरो संसार

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: