‘लगानी सम्मेलन’ भाँड्ने तत्व सक्रिय भईरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी तत्वले जनतामा निराशा फैलाउन थालेको बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भईरहेको दावी गरे । प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ।