नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको : प्रधानमन्त्री ओली



भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आज खरिपाटीमा सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै बताएका हुन्।

पुर्वराजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको प्रधानमन्त्री ओलीले बताए । नेपाली सेनाले विगत देखि नै राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा उल्लेखनीय कार्य गरेको ओलीले स्पष्ट पारे ।

‘नेपाली सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ’। प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ।’

लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको समेत ओलीले बताए। ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ।’

प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा आउन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनुपर्ने समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: