नेपालले युएईलाई दियो २४८ रनको लक्ष्य



काठमाडौं : आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले युएईलाई दुई सय ४८ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २४७ रन बनायाे ।

नेपालका लागि हरि चौहानले नटआउट ६७ रनको योगदान दिए । अन्तिमसम्म टिकेका उनले ७४ बलमा ७ चौका हिर्काए । भीम सार्कीले पनि अर्धशतक प्रहार गरे। उनले ५४ बलमा ४ चौका र २ छक्का हिर्काए ।

त्यसअघि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका हिर्काए। अर्का ओपनर पवन सर्राफ १२ रनमा आउट हुँदा आसिफ शेखले २७ रन बटुले । कप्तान रोहितकुमार पौडेल १८ रन र सन्दीप जोरा ४ रनमा आउट  भए। कुशल मल्ल (१ रन), रासिद खान (१ रन), कमलसिंह ऐरी (२ रन)  र सागर ढकाल (२ रन) सस्तैमा आउट भए ।

बलिङमा युएईका रिशव मुखर्जीले ४ विकेट लिए भने मुहमद फाराजुद्दिनले ३ विकेट हात पारे ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित भगरेको थियो ।

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ । छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन् ।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो । गत वर्ष न्युजिल्यान्डमा भएकाे विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो ।

आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन् । अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ । अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: