नेपालमै मेहनत गर्दा नाम, दाम र काम सबै छ कल्पनासँग



काठमाडौं : आफ्नै देशमा नै केही गर्न सकिन्छ भन्ने राम्रो उदाहरण हुन्, कल्पना योङहाङ लिम्बु । नौ वर्षअघि १५ हजार रुपैयाँबाट व्यवसायमा होमिएकी कल्पना अहिले तीन करोडभन्दा बढीको मालिक भइसकेकी छिन् । मेहनतकै कारण अहिले उनीसँग नाम, दाम र काम सबै छ । त्यसैले त भन्छिन् ‘महिलाहरु विदेशमा नारकिय जीवन विताउन किन जान्छन् होला, देशमा नै धेरै सम्भावनाहरु छन्, यही मेहनत गरे सबै कुरा पाउन सकिन्छ ।’

ऋण मागेको १५ हजारबाट ढाकाको व्यवसायमा हात हालेकी थिइन्, कल्पनाले । पाँचथरमा हुर्किएकी कल्पनाले सानैदेखि आफ्नो गाँउठाँउमा देख्दै आएकी ढाकाकै व्यवसाय २०६४ मा शुरु गरेकी थिइन् । उनले एउटा तानबाट ढाका बुन्न शुरु गरेकी थिइन् ।

मेहनत र धैयर्ताको कारण एउटा तानबाट कमाई भएको पैसा पनि त्यही व्यवसायमा नै लगाइन् । नौ वर्षसम्ममा उनले अहिले एक सय भन्दा बढी कपडा बुन्ने तान जोडिसकेकी छिन् । सुरुमा आफैँले उत्पादन गरेका वस्तुलाई विभिन्न स्थानमा डुलेर निकै दुःखका साथ अरुलाई किन्न हार गुहार गर्दै हिडेको पिडादायी अनुभव छ, उनीसँग ।

‘कपडा त बनाए, तर बेच्ने कहाँ, केही थाहा थिएन, धेरै ठाँउमा धेरै जनासँग हार गुहार गरे’, उनले भनिन् ‘मेहनत त धेरै गरे, विस्तारै विस्तारै ढाकाबारे बुझ्न थाले मान्छेहरुले अनि विस्तारै कपडा विक्रि हुन थाल्यो ।’

उनले धैर्य नगुमाइकन आफ्नो काममा निरन्तर लागिरहीन् । अहिले उनले भक्तपुर, कीर्तिपुरमा समेत व्यावसायिक रुपमा तान विस्तार गर्दै करिब एक सय ८० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएकी छिन् । नेपाली हस्तकला तथा मौलिकताबाट बुनिएका रुमाल, सल, खाँडीका कपडा, सुरुवाल, मफलरलगायत वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेकी छिन् ।

द हाइल्यान्ड आर्ट नामको उनको संस्थाले विश्व बजारमा नेपाली सीपबाट बनेका ढाका तथा ढाकाजन्य कपडाको पहिचानलाई विस्तार गरिरहेको छ । सिंगापुर पुलिसमा आफन्तहरुको माध्यमबाट विदेशमा ढाकाका कपडाहरु पठाएर विदेशको व्यापार शुरु गरेकी थिइन्, कल्पनाले । उनको उत्पादन अहिले विश्वका सबै देशहरुमा जाने गरेको छ ।

उनी आफै पनि अहिलेसम्म युरोपका विभिन्न २७ तथा अन्य ११ राष्ट्र गरी ३८ वटा मुलुक घुमिसकेकी छिन् । उनी आफ्नो उत्पादनको बजार खोज्न आफै विदेश जाने गरेकी छिन् ।

व्यापार प्रवद्र्धनकै लागि उनले नेदरल्यान्डमा हिमालयन ज्वेलरी एण्ड हेन्डीक्राफ्टस नामको शोरुम पनि खोलेकी छिन्, त्यहीबाट कम्पनीको उत्पादनलाई निर्यात गर्दै आएकी छिन् । सिंगापुर, हङकङ र बेलायतमा उनले फेसन शोहरु पनि गर्दै आएकी छिन् । जसले नेपाली ढाकालाई विश्वभर चिनाउन मद्दत गरेको छ ।

उनका अनुसार एक औपचारिक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उक्त कम्पनीको उत्पादनलाई प्रयोग गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्नै मौलिक, सरल डिजाइन, सामान्य रंगहरु मन पराउने गरेको अनुभव उनीसँग छ ।

‘राष्ट्रपति ज्यु पनि मेरै डिजाइन लगाउनुहुन्छ’, उनले सुनाइन् ‘उहाँ आफ्नै मौलिकता ढल्कने, साधा पहिरन मनपराउनुहुन्छ ।’

उनले सामान्य ५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका ढाकाका लुगाहरु उत्पादन गर्ने गर्दछिन् । मानौं उनले एउटा कोट तयार गर्न आठ हजार रुपैयाँ खर्च गरेकी रहेछिन् भने त्यसलाई नौ हजार रुपैयाँमा विक्रि गर्छिन् । व्यवसायलाई दिगो राख्नको लागि उनले थोरै मार्जिन राख्ने गरेकी रहेछिन् ।

नेपालमा त उनको व्यापार छदैछ । विदेशमा भने उनले अहिले अनलाइनमार्फत लुगा र डिजाइनहरु बेच्दै आएकी छिन् । विदेशका पुराना ग्राहकहरुले मागेको डिजाइन अनुसार उनले लुगा तयार गरेर दिने गरेकी छिन् । विदेशीहरुलाई पनि उनले नेपालमा नै विक्रि गर्ने मुल्यमा दिदै आएकी छिन् । त्यसमा खाली कार्गोमा लाग्ने खर्च भने सामान अर्डर गर्ने कम्पनीले नै तिर्ने गरेको रहेछ ।

उनले त अझै विभिन्न चलचित्र र मोडलिङ कन्टेस्टहरुमा त सित्तैमा लुगाहरु दिदै आएकी रहिछिन् । सुटिङ र प्रतियोगिताहरुमा लुगा उपलब्ध गराएर कला क्षेत्रमा सहयोग पनि पु¥याइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: