आईसीसी टी -२० अन्तर्राष्ट्रिय वरीयतामा पारस र सोमपालको फड्को
काठमाडौं : युएईविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेपछि नेपाली खेलाडीहरुले टी २० अन्तर्राष्ट्रिय वरीयतामा समेत फड्को मारेका छन्। नेपालका कप्तान पारस खड्का अलारउण्डरतर्फ शीर्ष ४० भित्र अटाएका छन् भने बलरतर्फ सोमपाल कामी २२ स्थान माथि उक्लिएका छन्।
युएईविरुद्धको टी–२० सिरिज नेपाललाई जिताउन उत्कृष्ट खेलेका पारसले टी–२० वरीयताको अलराउन्डरमा फड्को मारेका हुन् । ७६ रेटिङ अंकसहित ४० स्थानमा रहेका पारसको यो करिअरकै उच्च वरीयता हो । टी–२० वरीयताको अलराउन्डरमा नेपालका सोमपाल कामी पनि उत्कृष्ट सय स्थानभित्र पर्न सफल भएका छन् । सोमपाल ६० रेटिङ अंकसहित ५०औं स्थानमा छन् ।
ब्याट्सम्यानको वरीयतामा भने पारस ९०औं स्थानमा छन् । टी–२० ब्याट्सम्यानको वरीयतामा उत्कृष्ट सय भित्र पर्ने पारस नेपालका एक्ला खेलाडी हुन् ।
यता बलरको वरीयतामा पनि सोमपालको स्थानमा सुधार आएको छ । सोमपाल २२ स्थान माथि उक्लदै ७०औं स्थानमा पुगेका छन्। बसन्त रेग्मी बलरको वरीयतामा ७१ स्थानमा छन् । यता सन्दीप लामिछानेले पनि वरीयतामा सुधार ल्याएका छन् । सन्दीप बलरको वरीयतामा ३६ स्थान माथि उक्लदै १ सय ५९ स्थानमा छन् ।
टी–२० अलराउन्डरको शीर्ष स्थानमा बंगलादेशका सकिब अल हसन छन्। दोस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी छन् भने बंगलादेशकै मोहमुदुल्लाह तेस्रो स्थानमा छन् । यसैगरि ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन् भने दोस्रो स्थानमा न्युजिल्यान्डका कोलिन मुनरो र तेस्रो स्थानमा अस्ट्रेलियाका आरोन फिन्च छन्। यसैगरि बलर तर्फको वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन्। भारतका कुलदीप यादव दोस्रो र पाकिस्तानका सादब खान तेस्रो स्थानमा छन्।