जुत्ता मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ : ओली
प्रतिक्रियावादीले भन्ने लोकतन्त्र गर्ने तानाशाही र दमनकारी नै हो



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबिच समानताकै आधारमा पार्टी एकता हुने बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समानताकै आधारमा पार्टी एकता हुने बताएका हुन् ।

कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भने, ‘हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्‍याएका छौं ।’

दुई ठुला पार्टी मिल्नुअघि सेन्टिमेन्टल कुरा हुनु कुनै अनौठो नभएको उल्लेख गर्दै उनले कार्यक्रम ढिला सुरु भएकोप्रति लक्षित गर्दै भने, ‘पार्टी एकता हुनुअघि सेन्टिमेन्टल कुरा हुन्छन् नै । आज पनि शुरुमै अलिकति दाँतमा ढुंगा लाग्यो ।’

अन्य कम्युनिष्ट पार्टीतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्टको सरकार रहेको र यो नै ठुलो क्रान्ति भएको बताए। उनले निर्वाचनको माध्यमबाट अगाडि बढ्ने भएकोले अरु बाटो नभएकोसमेत स्पष्ट पारे । ओलीले अब एकता हुनका लागि रोक्ने कारण केही नभएको बताए। भने, ‘एकता नहुने ठाउँ र तर्क छैन । निकट समयमा एकता हुन्छ ।’

आफ्नो भाषण सुरु गर्दा नेपाली कम्युनिस्टको इतिहासबारे चर्चा गरेका ओलीले पछिल्लो चरणमा पार्टी एकताबारे बोलेका थिए। उनले विगतमा जसले जति गल्ती गर्‍यो उसले त्यति सजाय पाइसकेको जनाउँदै अब गल्ती नगर्ने बताए।

पार्टी एकताबारे नेता तथा कार्यकर्ता पंक्तिलाई आश्वस्त पर्दै उनले भने, ‘हिजो प्रचण्डजीले पनि मलाई केही भन्नू भयो होला, मैले पनि बाँकी राखिन होला। ती सबैलाई बिर्सेर अघि बढ्ने हो। हामी शासनमा मात्रै होइन, जेलमा पनि बसेका छौं। टेलिभिजनमा मात्रै होइन, लुकेर पनि बसेका थियौं। यी सबै अनुभवलाई देश विकासमा प्रयोग गर्छौं ।’

सम्बोधनका क्रममा पटक पटक कांग्रेसप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओलीले कांग्रेसको पहिलो सरकारले नै कम्युनिष्टलाई प्रतिबन्ध लगाएको स्मरण गरे ।  “राणा शासन फालेपछि कांग्रेसले पहिलोपटक कम्युनिष्टलाई नै प्रतिबन्ध लगाएको थियो,” ओलीले भने, “अहिले यति मजबुद हुँदा त दुःख दिएको छ त्यसबेला कस्तो हुँदो हो ?”

उनले कांग्रेसको पछिल्लो सरकारका पालामा पनि त्रिचन्द्र क्याम्पस अगाडी विरोधमा उत्रिएका विद्यार्थीलाई लाठी प्रहार गरेर दमनकारी व्यवहार देखाएको बताए । “अस्ति मात्रै निर्वाचन सकिएपछि त्रिचन्द्र अगाडी अलिकति विद्यार्थी निस्कँदा निर्मम तरिकाले लाठी प्रहार गरियो,” प्रधानमन्त्री ओलीले भने, “प्रतिक्रियावादीले भन्ने लोकतन्त्र गर्ने तानाशाही र दमनकारी नै हो ।”

उनले माओवादी र एमालेले कांग्रेसलाई घिसारेर नल्याएको भए संविधान पनि नबन्ने अवस्था रहेको बताए ।  नेपालका कम्युनिष्ट पार्टी फुटेको फाइदा पनि कांग्रेसले नै लिएको संकेत गर्दै भने, “हामी फुट्ने तर लाभ अर्कैले लिने काम हुँदैन भनेर नै जुटेका हौं ।”

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: