चीनको हिरासतमै मृत्यु भएका भनिएका टर्कीका संगीतकार जीवितै रहेको खुलासा



काठमाडौं : चीनको हिरासतमै मृत्यु भएका भनिएका टर्कीका उइगर संगीतकार जीवितै रहेको देखिने भिडियो चिनियाँ सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको छ । फेब्रुअरी १० तारिखमा खिचिएको भिडियोमा संगीतकार अब्दुरेहिम हेयित जीवितै रहेको र उनले आफ्नो ‘स्वास्थ्य राम्रो’ रहेको बताएका छन् ।

यसअघि टर्कीले अब्दुरेहिमको हिरासतमा मृत्यु भएको भन्दै चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तका बन्दीगृहहरू बन्द गर्न चीनलाई आह्वान गरेको थियो । हेयित जीवितै देखिने भिडियोप्रति सिन्जियाङका मुस्लिम उइगर समुदायका मानिसहरूले प्रश्न उठाएका छन् । अमेरिकास्थित उइगर मानव अधिकार आयोजनाकी अध्यक्ष नुरी तुर्केलले भिडिओका केही पक्ष ‘शंकास्पद’ रहेको बताएकी छिन् ।

टर्कीको विदेश मन्त्रालयले बन्दीगृहमा राखिएका उइगरहरूलाई यातना दिइएको भन्दै चिन्ता व्यक्त गरेपछि चीन र टर्कीबीच तनाव देखिएको छ । टर्कीले उइगर समुदायलाई हिरासतमा राख्न बनाइएका शिविर बन्द गर्न चीनलाई आग्रह गरेको हो । हेयित सिन्जियाङ्ग प्रान्तमा आठ वर्षको जेल सजाय भोगिरहेका थिए ।

मुस्लिम समुदायका उइगरहरू चीनको पश्चिम उत्तरी सिन्जियाङ क्षेत्रमा बसोबास गर्दछन् । टर्कीसँग भाषा र संस्कृति मिल्ने हुनाले थुप्रै उइगरहरू हालैका वर्षहरूमा चीनबाट भागेर टर्की गएका छन् । उनीहरूका क्रियाकलापमाथि चीनले कडा निगरानी राख्दै आएको छ । सिन्जियाङ्ग क्षेत्रमा करिब दश लाख उइगर अल्पसंख्यक समुदायका मानिसलाई शिविरहरूमा राखिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: