काम सानो वा ठूलो हुँदैन, नेपालमै सम्भव छ



– रोहित भण्डारी

धेरै युवाहरूले भन्ने गरेको कुरा के हो भने नेपालमा केहीको सम्भावना छैन, रोजगारीको बाटा छैनन्, नेपालमा बसेर केही गर्न सकिदैन जस्ता थुप्रै कुराहरू सुन्ने गरिन्छ र हामी पनि यस्तै भन्ने गर्छौ । कतिपय युवा समृद्ध भनिएका देश अष्ट्रेलिया, अमेरिका या क्यानडा लगायतका देश जान पाएदेखि आफूलाई अहोभाग्य ठान्छन् । नेपालमा केही गर्न सकिदैन भन्ने लगायतका आवाज आइरहँदा के साँच्चै नेपालमा केही छैन त, के नेपाल बिग्रिएकै हो त जस्ता प्रश्न उठेको छ ? मैले आफ्ना दुई पुस्तकमार्फत नेपालमा पनि केही गर्न सकिन्छ, नेपालमा पनि सम्भावना छ, नेपालमा कुन क्षेत्रमा कस्तो कस्तो खालको सम्भावना छ भन्ने विषयमा जानकारी दिने प्रयास गरेको छु । विशेषतः नेपालमा कमजोर आर्थिक पृष्ठभूमिबाट माथि उठेका, जसले आफूले मेहनत र परिश्रम गरेर नेपालमा राम्रो स्थान बनाएका छन्, उनीहको सफलता र संघर्षका कथा जसलाई मैले ‘सम्भव छ’ नामक आफ्नो पुस्तकमा उल्लेख गरेको छु भने ‘नेपालमै सकिन्छ’ नामक अर्को पुस्तक जहाँ कामको सम्मान गर्ने युवा नेपालीको कथा प्रस्तुत गरेको छु । समृद्ध मुलुकमा गएर फर्केका युवाहरूले नेपालमै बसेर पनि राम्रो आम्दानी गरेका कथा प्रस्तुत गरेको छु ।

दुवै पुस्तकमा संलग्न गरिएका जति पनि कथा छन्, ती कथाका प्रत्येक पात्रसँग मैले भेटेको छु । जस्तै ‘सम्भव छ’ पुस्तकमा मा पर्साका श्यामवदन यादवको कथा छ । उनी मध्यम वर्गका व्यक्ति हुन् । उनले गरेको संघर्ष, सफलताको बारेमा उल्लेख छ । यस्तै २३ जना व्यक्तिका बारेमा लेखेको छु ।
नेपालमा धेरै सम्भावना रहेको छ । म एउटा उदाहरण दिन्छु । काठमाडौंकै जोरपाटीमा बस्ने एक जना युवाले एउटा सानो कोठा भाडामा लिएर आफैले चिया पकाएर थर्मशमा राखेर चाबहिल लगायतका तरकारी बजारमा दैनिक रूपमा चिया बेच्छन् । उनले भने अनुसार उनले दिनमा ३०० कप चिया बेच्छन् । एक कपको १५ रूपैयाको दरले पनि दिनको ४५०० रूपैया हुन आउँछ । महिना दिनमा हुने उनको खर्च कटाएर पनि ६० हजार भन्दा बढी नाफा हुन्छ । एउटा युवाले एक महिनामा ६० हजार कमाउँछ । हामी कति युवा छौँ जो २०÷३० हजारको लागि खाडि मुलुक जान्छौँ । यो एउटा सानो उदाहरण मात्र हो । यस्तै नेपालमा गर्न सक्ने व्यवसाय हेर्ने हो भने यहाँ थुप्रै व्यवसायहरू छन् । ‘नेपालमै सकिन्छ’ भन्ने पुस्तकको लगभग ८० पृष्ठजति यस्तै नेपालमा सम्भावना भएका कामहरूको बारेमा मात्र उल्लेख गरेको छु ।

नेपालमा पनि धेरै सम्भावना रहेको छ तर हाम्रो देशका युवाहरू त्यसतर्फ आकर्षित हुन सकिरहेको छैन । यसमा मुख्य दोष त हामी युवाकै छ । किनभने हाम्रो समाज नै त्यस्तै भइदियो । यदि घरमा कोही विदेशमा गएर काम गरिरहेको छ भने परिवारका सदस्यले गर्वका साथ भन्छ कि मेरो परिवारको मान्छे विदेश गएको छ । यस अर्थमा पनि विदेश गएन भने त सामाजिक प्रतिष्ठा नै जाने हो कि भन्ने डर हामी युवामा पलाएको छ । युवाहरूले के सोच्नु पर्दछ भने हामीले विदेशमा गएर पैसा त कमाउन सक्छौं तर खुशी कमाउन सक्दैनौ, त्यसका लागि आफ्नै घर चाहिन्छ । विदेशमा कमाएको पैसामा खुशी भेट्न सकिन्न । म के आग्रह गर्न चाहन्छु भने विदेशमा पैसा मात्र छ तर नेपालमा पैसा पनि छ खुशी पनि छ । युवाहरूमा काम प्रति आर्कषित नहुनुमा पनि कारण छ । हुन त नपढी केही काम गर्न सकिदैन । आफूले गर्न चाहेको कामको बारेमा जानकारी त अवश्य नै चाहिन्छ । तर हामी पढेर ज्ञानी हुनुपर्ने ठाउँमा घमण्डी भइदिन्छौ । पढाईले ज्ञान, सीप, संस्कार भन्दा पनि घमण्ड बढाइदियो । त्यसकारण मान्छेहरू जति धेरै पढ्यो उती धेरै बेरोजगार छन् । यसको अर्थ पढिसकेपछि कामको सम्मान गर्नुपर्छ भन्ने भावना नै हामीमा जागृत हुन सकेन । अर्को कुरा त हाम्रो समाजको सोच बदल्न नसक्नु पनि अर्को कारण हो । नेपाली युवाहरूको समस्या भनेको बेरोजगारीको समस्या होइन सोचको समस्या हो । विदेशमा काम गर्दा हिनताबोध हुँदैन तर नेपालमा त्यही काम गर्दा हिनताबोध हुन्छ । जबसम्म हामी हाम्रो सोच बदल्न सक्दैनौँ तबसम्म हाम्रो समस्या भनेको नै बेरोजगारी ररिहन्छ ।

हामीले निकै मिहिनेत गरेर पैसा कमाएर नेपाल पठाउँछौँ । तर त्यो पैसा खाद्य पदार्थदेखि विलासिताका सामान किन्न खर्च भइरहेको छ । खाद्य पदार्थको लागि विदेशमा कमाएर नेपाल पठाउनुभन्दा नेपालमा नै उत्पादन गर्न सके पैसा विदेश त जान पाउदैन नि । हुन त रेमिट्यान्सले देश धानिएको छ भनिन्छ तर रेमिट्यान्सकै कारण देशको ठूलै विकास भएको छ भन्ने कुरा मैले कतै सुनेको पनि छैन र पढेको पनि छैन । साँच्चै हामी गम्भीर बन्न आवश्यक छ । मैले पहिले नै भनिसके हाम्रो सोच बदल्ने हो भने नेपालमै सकिन्छ र सम्भव छ ।

विदेश जानै नहुने भन्ने होइन । तर विदेशमा गर्ने काम नेपालमा पनि गर्नका लागि कुनै किसिमको हिनताबोध पालेर नबस्नु हुन्न । जागिर नै खानुपर्छ भन्ने होइन । हामीले साना साना काम गरेर पनि लाखौँ आम्दानी गर्न सक्छौँ । हामीले आफ्नो मनमा रहेको हिनताबोधको अन्त्य गरेर काम गर्ने हो भने जसरी विदेशी नागरिक नेपाल घुम्न आउँछन् त्यसरी नै नेपाली युवाहरू पनि विदेश घुम्न जानसक्ने हैसियतमा पुग्दछन् । काम सानो ठूलो हुँदैन । हामी जति सानो बन्न खोज्छौँ त्यति ठूलो बन्छौँ र हामी जती ठूलो बन्न खोज्छौँ त्यहि सानो बन्छौँ । अर्थात हामीले साना भनिएका काम गर्न थाल्यौँ भने हामी ठूलो बन्छौँ र सानो कामलाई हेला गरेर एकै पटक ठूलो काम गर्न लाग्यौँ भने सानो बन्दै जान्छौँ । ‘सम्भव छ’ र ‘नेपालमै सकिन्छ’ पुस्तकमा धेरै सन्दर्भहरू छन् । यो पुस्तक काठमाडौ लगायत पोखरा, बुटवल विराटनगर लगायतका स्थानमा उपलब्ध भएको हुनाले समय मिलाएर यो पुस्तक पढ्न म आग्रह गर्दछु । यी पुस्तकहरू पढिसकेपछि म केही गर्न सक्दिन भन्ने भावना परिवर्तन हुनेछ भन्ने कुरामा म विश्वस्त छु । (मधेश दर्पण फिचर सेवा)

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: