कर्मचारी नहुँदा एकै लेखापाल तीनवटा कार्यालयको लेखा फाँट हेर्छन्



बैतडी : लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा यहाँका सरकारी कार्यालयमा समस्या भएको छ । बैतडीमा एउटै लेखापालले तीन-तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखाफाँट हेर्दै आएका छन् ।

कोष, प्राविधिक कार्यालय सदरमुकाम र भू–संरक्षण कार्यालय सदरमुकामबाट ४० किलोमिटर टाढा पाटनमा पर्छ । दुईतिर कार्यालय भएपछि उनलाई समय मिलाउन हम्मेहम्मे पर्छ । कार्यालयको लेखासम्बन्धी काम साँझ बिहान गरेर भ्याउन नसकेको उनको दुखेसो छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत लेखापाल दीपक ओझाले दुई कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । स्वास्थ्यमा कार्यरत उनलाई काजमा पञ्चेश्वर गाउँपालिकाको लेखा हेर्ने जिम्मा थपिएको छ ।

पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखा फाँट सम्हाल्दै आएका छन् । जिल्लामा करीब आठ लेखापालले दुई कार्यालयको लेखा फाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरुले दुई-तीन कार्यालयको लेखा सम्हाल्दै आएका छन् । दुई-तीन कार्यालय हेर्नु पर्दा समयमै काम सम्पन्न नभएर सेवाग्राही मारमा परेका छन् भने लेखापालसमेत समस्यामा छन् । “गाउँपालिका पुग्न एक दिन लाग्छ,” लेखापाल ओझाले भने – “कहिले स्वास्थ्य कहिले गाउँपालिका हेर्नुपर्दा खाना खानेसमेत फुर्सद छैन ।” दुवै कार्यालयको कामको चापका कारण समयमै काम गर्न नसकिएको उनको भनाइ छ ।

जिल्लास्थित आधा दर्जन सरकारी कार्यालय पाटनमा छन् । सदरमुकाम र पाटन दुवैतिरका कार्यालय हेर्दै आएका लेखापाललाई मात्र होइन थप गाउँ-नगरपालिकाको लेखा हेर्न सास्ती हुने गरेको जिल्ला निर्वाचन र मेलौली नगरपालिकाको लेखा हेर्दै आउनुभएका भानदेव जोशीले बताए । संघीय पुनःसंरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीय तहको लेखा हेर्ने जिम्मा दिइएपछि कार्यबोझ बढेर समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिकृया दिनुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: